Sunday, 21 January 2018

परिवर्तन

         म एउटा गैरसरकारी संस्थामा हाकिम।तल्लास्तरका कर्मचारीबाट प्रशस्तै मान-सम्म्मान पाइरहेकै थिएँ।हाम्रो संयुक्त बृहत परिवारमा प्रायः सबै सदस्यहरु शिक्षित।श्रीमतीले पनि बी.ए.सम्मको पढाई पूरा गरेर जागिर खाँदा-खाँदै दुई जीउकी हुँदा मैले नै कहर गरेर छोड्न लाएको थिएँ।एउटा सन्तानलाई जन्म दिएपछि उनी गृहिणीमै सिमित हुन पुगिन्।
"हजुर!म यति पढेलेखेर गृहिणीमै सिमित हुन चाहन्न।मेरो योग्यता र क्षमतालाई सही ठाउँमा सदुपयोग गर्न चाहन्छु।"
"घरपरिवार धान्ने त मैले कमाएकै छु नि रमा,किन तिमीलाई फेरि जागिर खानुपर्यो?हामी दुबैले जागिर खाँदा परिवारलाई समय दिन र करेसाबारीमा पानी हाल्न समेत भ्याइँदैन।कि त घरमा काम गर्ने मान्छे राख्नुपर्यो।बरु त्यो भन्दा तिमी घरमै बालबच्चाको रेखदेख गरेर बस।"
हामी जोइपोइको बीचमा यस्तै विवाद भैरहन्थ्यो।अन्ततः उनले हरेश खाएर घरैमा बस्न थालिन्।
       समयले द्रुत गतिमा छलाङ मार्दै थियो।मेरी सानी बहिनी पनि एम.ए.मा अध्ययन गर्न भैसकिन्।बेला-बेलामा घरमा समाज परिवर्तनका जायज कुराहरु गर्थिन्।उनको दक्षता देखेर हाम्रो परिवार निकै आल्हादित थियो।
"मेरी कान्छीले चाहिँ केही गर्छिन्।सायद यिनी देशको ठूलो पदमा पुग्नेछिन्।"
मेरी बुढीआमाले बेला-बेला यस्तै भनेर छाती चौडा पार्नुहुन्थ्यो।
         एकदिन मेरी श्रीमती रमा रुघा-मर्गीले सिकिस्त भईन्।घरमा धुनुपर्ने कपडाको चाङ लाग्यो।आर्थिक स्थिति मजबुत भएपनि घरको काम गर्न कसैलाई बोलाएको थिइन।जसोतसो रमाले नै भ्याएकी थिइन्।अन्तर्मुखी स्वभावकी भएकोले उनले नै काम गर्ने मान्छे राख्न चाहेकी थिइनन्।फोहोर कपडा टुलुटुलु हेरेर बस्न सकिन।आफैं धुने मनसायले सबै कपडा सर्फ-पानीमा भिजाएँ।त्यस्तो हालत देखेर मेरी कान्छी बहिनी मुर्मुरिन थालिन्।
"दाइ!कपडा किन भिजाउनु भएको?मेरो त काम छ,भ्याउँदिन।"
"हैन नानी,तिमीलाई धुन लाउँदिन।म आफैं धुने भनेर भिजाएको।"
मेरो बोली भुइँमा खस्न नपाउँदै उनले तु जवाफ दिईन्-
"एकदुई दिन कपडा नधोए के हुन्छ दाइ?भाउज्यू ठिक भएपछि धोइहाल्नुहुन्छ नि।यत्रो अफिसको हाकिम भएर पनि कपडा धोएर बस्नुहुन्छ?आफ्नो पद र प्रतिष्ठाको पनि ख्याल गर्नुस्।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...