Monday, 8 January 2018

पहिरो

बर्षायाममा
कृष्णभीरबाट गएको पहिरोले
सडक अबरुद्ध हुँदा
गाडीहरु जाममा पर्छन्
सरकारले डोजर,कामदार पठाएर
यथाशीघ्र सडक खोल्न
प्रयासरत रहन्छ
केही दिनभित्र
पुनः सडक पूर्वावस्थामा आउँछ।

तर बेला न कुबेला
यो शिशिरयाममा
यो मनबाट
भीषण पहिरो गएर
मनको मार्ग अबरुद्ध भई
माया नै जाममा परेको छ
जिन्दगी नै जाममा फसेको छ
अबरुद्ध मार्ग खोल्न
कुन डोजर चाहिएला?
ठिक हुन कति दिन लाग्ला?
जवाफ छ कोही इन्जिनियर सित?
उपाय छ कोही बिज्ञ संग?

आणविक बमले डामेको शहर
बरु सुन्दर बनाउन सकिएला
चुँडिएको डोरी
सजिलै गाँस्न सकिएला
भुकम्पले क्षत-विक्षत संरचना
पुनर्निर्माण गर्न सकिएला
तर यो भत्किएको मन
फेरि बनाउन
त्यति सहज छैन।

तोडिएको मन जोड्ने
यहाँ कुनै गम छैन
कुनै इँटा,पत्थर छैनन्
जसरी आगोले बनाएको घाउ सेक्न
आगो नै चाहिन्छ
ठिक त्यसरी नै
मनद्धारा तोडिएको
मन जोड्न त मनै चाहिन्छ।

त्यसैले साथी हो!
किन तिमीहरू यो मन जोड्न
व्यर्थ कष्ट गर्छौ?
के भोको बाघले घाँस खान्छ र?
बरु आउ,सबै मिलेर
एउटा सुन्दर मनको खोजी गरौं।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...