Sunday, 7 January 2018

मनोमिटर

कुनै डकर्मीले
इँटा-इँटा जोडेर
निर्माण गरेको विशाल पर्खाल
अप्रत्याशित भुकम्पले
तहसनहस पारे झैं
"उनी" नामको भुकम्पले
मेरो प्रेमको पर्खाल
क्षत-बिक्षत पारेर गयो।

अडिएको पत्थर गुडे झैं
तन्किएको रबर छोडे झैँ
जमेको ताल फुटे झैं
बन्दुकको गोली छुटे झैं
उनी पनि म बाट
उस्तै गतिमा छुटिन्
आखिर संचित मायाले पनि
घृणाको विकराल रुप लिएर
जीवनलाई भत्काएर जाने रहेछ।

ए न्यूटन!
स्याउ जमिनतिरै खस्छ,
माथितिर उड्दैन
यसको कारण त गुरुत्वार्कषण बल रहेछ
तर कुनै मन
एउटा मनको साथ छोडेर
किन अर्को मनतिर आकर्षित हुन्छ?
कुन बलले भूमिका खेलेको हुन्छ?
यसको कारण पत्ता लाउनुपर्थ्यो तैंले
त्यसैले तँलाई म बैज्ञानिक मान्दिन।

तैंले चालको नियम बनाईस्
तर मायाको नियम बनाइनस्
प्रत्येक माया बराबर बिपरित घृणा हुन्छ
म द्धारा प्रतिपादित
मायाको तेश्रो नियमानुसार।

ए मूर्ख न्यूटन!
के नचाहने कुरामा अनुसन्धान गरेको?
कुनै बस्तुको चाल थाहा नपाएर के हुन्छ?
मुटुको चाल बारे किन खोज गरिनस्?

ए पाइथागोरस?
मान्छेदेखि मान्छेसम्मको दूरी निकालिस्
मनदेखि मनसम्मको दूरी किन निकालिनस्
यदि निकाल्न सिकेको/सिकाएको भए
बेला-बेलामा दूरी निकालिरहन हुन्थ्यो
मनहरु बीचको दूरी बढ्दै जाँदा
घटाउने कोसिस गरिन्थ्यो
अनि बिछोड हुनबाट बच्न सकिन्थ्यो।

थर्मोमिटर
अल्टीमिटर
ब्यारोमिटर
रुलर/टेप
आदि-इत्यादि बनाए
तर मनोमिटर बनाएनन्
मेरो सिकायत छ बैज्ञानिकहरुलाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...