पसिनाको नदीमा पौडिएर
जिन्दगीलाई पार लगाउन चाहे पनि
जिन्दगी त आफैंमा ठूलो नदी रहेछ
समयसंग बग्दै-बग्दै
विभिन्न गल्छेडा हुँदै
बगिरहनुपर्ने रहेछ।
उकालीमा बग्न खोजेपनि
कहिले सजिलो बाटो हुँदै
कहिले अप्ठ्यारो बाटो हुँदै
ओरालीमै बगिरहनुपर्ने रहेछ।
रोक्न खोजेर नरोकिने रहेछ
तीव्र गतिमा बग्न खोजेर नबगिने रहेछ
उसको आफ्नै सिद्धान्त छ
उसको आफ्नै नियम छ
उसको आफ्नै गति छ।
कुनै जिन्दगी फुटेको मूल जस्तो
जुन खोलामा गएर मिसिन्छ
कुनै जिन्दगी खोला जस्तो
जुन नदीमा गएर मिसिन्छ
आखिर जे भए पनि
अस्तित्व समाप्त हुन्न
केवल स्वरुप परिवर्तन हुन्छ।
जिन्दगीको नदीले
बग्न बिर्सिनु हुन्न
कर्तव्यबोध गरेर
जिम्मेवारीबोध गरेर
बगिरहनुपर्छ,बगिरहनुपर्छ
जिम्मेवारी तब खत्तम हुन्छ
जब जिन्दगी मृत-सागरमा गएर मिसिन्छ।
No comments:
Post a Comment