Monday, 8 January 2018

कुरुप आँखा

परी,अप्सराहरुको बस्ती झैं लाग्ने
कपासरुपी मेघको च्यादर र
हिउँको सिरक ओढेका
सेताम्य अलौकिक हिमशृंखला
मीठो झंकार बोकेर बेपर्वाह गाइरहने
झर्झर झर्ने झर्नाहरु
कोरस गायनमा भाग लिइरहेका
छङ-छङ गर्ने छहराहरु
ती भीर,पाखा,जंगल
सम्म भएर नमतन्न सुतेका फाँटहरु
खहरे,खोलाहरु हतासमा दौडेर बनेका
कलकल बग्ने नदीहरु
सुस्त,शान्त,शालिन सागर
कसलाई मनपर्दैन?

मीठो संगीत भर्दै सुस्ताउने पवन
गगनले आफ्नी प्रेमिका धरालाई
पठाएको प्रेमोपहार बर्षा
रवि र जलको संगमबाट
प्रकट हुने प्रेमिल सप्तरंगी इन्द्रेणी
निस्वार्थ सुवास छरिरहने
विभिन्न प्रजातिका पुष्पहरु
कसलाई मनपर्दैन?

सित्तैमा पाइने
धराको मुस्कान
अमूल्य प्राकृतिक उपहार
कसलाई मनपर्दैन र?
सबैलाई मनपर्छ।

तर धरा सल्बलाउँदा
हलचल पैदा हुँदा
पेटमा ग्यास्ट्रीक भएर
केही बस्तु निष्कासन हुँदा
प्राकृतिक परिवर्तन आउँछ
जसलाई हामीले जान्ने भएर
"प्राकृतिक विपत्ति" नामाकरण गरेका छौं
प्रकृतिको यो रुप
अनायासै हामीलाई कुरुप लाग्छ
स्वभाविक प्रकृयालाई हामीले
"महाभुकम्प" भनेका छौं
"बाढी-पहिरो" भनेका छौं
सजग हुनुपर्नेमा डराएर
घोक्रो सुक्ने गरी कराएका छौं
पृथ्वीको चरित्रमा दाग लाएर
बदनाम गरिदिएका छौं।

कुरुप धरा हैन
कुरुप त हाम्रो मन हो
कुरुप त हाम्रै आँखा हुन्।

कुनै सुन्दर यौवनाको
गाजलले पोतिएका नयनहरु
नयनभित्रका गहिरा तालहरु
झिमझिम नाच्ने परेली
पल-पल मिलन-बिछोड खेपिरहेका
गुलाबी अधरहरु
हिमशृंखला जस्ता बक्षस्थल
उनको यौवन
पुष्परुपी जवानी
उनको मुस्कान
शारीरिक चाल
कसलाई मनपर्दैन?

उनको तनमा स्पर्श गर्न
आफ्नो जवानीलाई
उनको जवानीको चौतारीमा बिसाउन
तृष्णा मेटाएर तृप्त हुन
पुरुषहरु लालयित हुन्छन्
उनको पाठेघरलाई डम्पिङ साइट ठानेर
आफ्नो जवानीरस
बिसर्जन गर्न उद्धत हुन्छन्।

तर जब
पृथ्वीको गर्भबाट मुल फुटे झैं
उनको गर्भबाट रक्तिम मुल फुट्छ
तीन-चार दिन रक्त निष्कासन हुन्छ
अनि उनी स्पर्श गर्न लायककी हुँदिनन्
त्यो प्राकृतिक प्रकृयालाई हेर्ने
आँखा खराब भैदिन्छन्।

तसर्थ
कुरुप प्रकृया हैन
कुरुप त हाम्रै मन हो
कुरुप त हाम्रै आँखा हुन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...