सिंगो संसार मस्त निंदाएर रंगीन सपना देखिरहँदा
फिक्का विपना च्यापेर बस्तीको रक्षार्थ
एउटा प्रवासी पहरेदार
उठिरहनुपर्छ
जागिरहनुपर्छ
सुँघिरहनुपर्छ
झुकिरहनुपर्छ
भुकिरहनुपर्छ
अभिवादन गरिरहनुपर्छ।
ताराहरुको आँखा झिम्क्याइसंगै
जूनको चहकतासंगै
निशाको स्तब्धतासंगै
लोलाएका निंदका प्यासी आँखाहरु
जबर्जस्ती बलिरहनुपर्छ
नत्र उसको भविष्य निभ्ने खतरा हुन्छ।
उसको लागि
कुनै दशैं/तिहार आउँदैन
कुनै रमादान/इद आउँदैन
न त ल्होसार/नयाँ साल
न छतपर्व/होली नै आउँछ
कुनै शुक्रबार/शनिबार आउँदैन।
भौगोलिक दूरी जत्तिकै
माया/ममता उत्तिकै दूर छन्
जिउँदाका जन्ती,मर्दाका मलामी छैनन्
थलिएर बस्दा सहयोगी हात छैनन्।
दुई टुक्रा इन्धन भरेपछि
सन्ध्या देखि प्रभात सम्म
अनवरत चलिरहनुपर्छ
बिना विश्राम
मानौं ऊ कुनै मेशिन हो।
मनोरञ्जन लिन
पूर्णरूपमा वर्जित गरिएको छ
एउटा प्राणी माथि निगरानी राख्न
चारैतिर डिजिटल आँखा छन्
एउटा तेजिलो आँखा खोरको सिलिङबाटै
झिमिक्क नगरीकन
हर कृयाकलाप निहारिरहन्छ।
बरु लोकल कुकुरको जिन्दगी
मान्छेको भन्दा कम रवाफिलो छैन
महंगा सोफामा सुत्न पाएकै छन्
दूधभात,माछामासु पनि राम्ररी रुच्दैन।
बेला-बेला बन्धनमा बाँधिएका कुकुरको मनमा
अनेक तर्कनाहरु आउँदा हुन्
उसले भन्दो हो-
बिचरा प्रवासमा सेक्युरिटी गार्डको जीवन
ठ्याक्कै हाम्रै जस्तो!
No comments:
Post a Comment