भत्किएको जिन्दगीको धरातलबाट
जिजीविषाका भग्नावशेष लिएर
पुनर्जागृत भएको मान्छे।
मृत्युका हजारौं सेनाहरुसंग
एक्लै युद्ध लड्दा-लड्दै
समयको गोली लागेर घाइते भई
यमलोकको संघारबाट
फर्केर आएको मान्छे।
प्रेमको जहाज दुर्घटनाग्रस्त भई
घृणाको सागरमा खसेर
धोकाको गहिराईसम्म चुर्लुम्म डुब्दा
हिम्मतको पखेटा फिंजाएर
पौडिंदै-पौडिंदै निस्केको मान्छे।
छातीभित्र
सयौं महाकाव्य
हजारौं उपन्यास
लाखौं कथा
करोडौं कविता
एकसाथ लिएर बाँचेको मान्छे।
तिमी रामायण र महाभारतको
कहानी सुनाउछौ मलाई
एकादेशको दन्त्यकथा सुनाउँछौ
करोडौं कहानीको
एउटै मुख्यपात्र भएको मान्छेलाई।
No comments:
Post a Comment