Sunday, 30 September 2018

पुस्तकालय

मनको संघारमा उभिएर कसैले भन्यो-
म एउटा खुल्ला पुस्तक हुँ
जहाँ जसरी अध्ययन गरेपनि हुन्छ।

अर्कोले ढोकामै ढक्ढ्क्याउँदै भन्यो-
म एउटा आकर्षक डल हुँ
शोकेसमा सजाउ या दिलमा।

कसैले भन्यो -
खुल्ला उद्यान हुँ
रंगीचंगी पुष्पहरु टिप्न सक्छौ।

कसैले भन्यो-
खुल्ला गगन हुँ
मनोमानी उड्न सक्छौ।

कसैले भन्यो -
खुल्ला धर्ती हुँ
ईच्छानूकुल हिंड्न सक्छौ।

कसैले भन्यो -
महासागर हुँ
सकुञ्जेल पौडिन सक्छौ।

कसैले भन्यो-
विशाल पुस्तकालय हुँ
छानीछानी पुस्तक पढ्न सक्छौ
अनि भन्यो-
पुस्तकालयको संचालक तिमी हौ
र तालाचाबी तिम्रै हातमा छ।

सबैभन्दा रिस अन्तिम पात्रलाई उठ्यो
र भनिदिएँ-
मलाई पाले बनाउने बिचार छ कि क्या हो?
अनि तिमीलाई जो आएर सुम्सुम्याए पनि भो?

पिरतीको पेरिमिटर

पिरतीको पेरिमिटर नाप्न सकिएन
उस्को लागि नोटहरु छाप्न सकिएन
तास जस्तै रैछ माया,खेल्दै गरिएको
हार्ने थाहा हुँदा-हुँदै हाप्न सकिएन।

कतिखेर उल्टो चाल चाल्छ मायालुले
मनोमानी थुतेपछि फाल्छ मायालुले
यो खेलमा च्याँखे पनि थाप्न सकिएन
आफ्नै मन बाली आगो ताप्न सकिएन।

छल हुन्छ यो मायामा झेली पनि हुन्छ
रणनीति हुन्छ यसमा राजनीति हुन्छ
सिद्धान्त नै नमिलेसी च्याप्न सकिएन
एकीकरण गर्नलाई गाभ्न सकिएन।

तिललाई पहाड

तिललाई पहाड बनाउ,तिम्रै मर्जी हो
दिललाई उजाड बनाउ,तिम्रै मर्जी हो
हजार चोट दिए पनि सहिदिन्छु म
खिललाई उखाड,दबाउ,तिम्रै मर्जी हो।

मेरो काम माया गर्ने,गरिरहन्छु
भीरबाट खसाले नि झरिरहन्छु
तिमी बाँचे तिम्रो लागि मरिरहछु
त्यो मुटुको खाली ठाउँ भरिरहन्छु।

बिजयको दियो तिमी बाल पियारी
उत्सवको लागि तिमी थाल तयारी
तिम्रो जीत आफ्नै ठानी सरिक हुनेछु
तिमी भन्दा खुशी म नै अधिक हुनेछु।

पिरतीको पेरिस टावर

पिरतीको पेरिस टावर झुक्ला जस्तो छ
नदुखेको मुटु पनि दुख्ला जस्तो छ।

जब हाम्रो माया बस्यो शुरु-शुरुमा
जे भने नि मानिदिन्थें खुरु-खुरु म
सम्झौतामा बाँधिएको बन्धन तोडेर
आकाशमा उड्ने मन छ भुरुरुरु म।
पिरतीको मुहान अब सुक्ला जस्तो छ
नदुखेको मुटु पनि दुख्ला जस्तो छ।

हामीलाई आफ्नो-आफ्नो अडान प्यारो छ
आफ्नै गाउँ,आफ्नै ठाउँ, उद्यान प्यारो छ
माया थियो या थिएन,थियो आकर्षण
हुनुपर्ने त्याग,तपस्या,थे'न समर्पण।
पिरतीको मामिलामा चुक्ला जस्तो छ
नदुखेको मुटु पनि दुख्ला जस्तो छ।

Saturday, 29 September 2018

प्रवास

खेती गर्दा रचनाको,गाँस नभेटिने रहेछ
डुंगा तर्दा भावनाको,प्यास नमेटिने रहेछ
घन बोकी लाग्छु बरु यथार्थकै ढुंगा फोड्न
भर पर्दा सपनाको,प्रवास लखेटिने रहेछ।

Friday, 28 September 2018

तिम्रो केशको लहरा

तिम्रो केशको लहरामा लहरिंदै लहरिंदै
तिम्रो आँखाको सागरमा तैरिंदै फेरि तैरिंदै
पिरतीको किनारमा पुगेर म बिसाउँछु
जिन्दगीको बाँकी केही पल त्यतै बिताउँछु।

तिम्रो ओठको गुफामा लुक्न देउ खडेरीमा
परेलीको छाता ओढी हिंड्न देउ ती झरीमा
मुहारको दियो बाली हाँस्न देउ अँधेरीमा
छातीका ती पहराले छेक आँधीबेहरीमा।

हिउँदको मौसममा न्यानो काखले सेकाइदेउ
दुश्मनले छोप्न खोजे नङको भाला देखाइदेउ
दाँतहरुका मोती छन् ,सुन्दरताको सुन पनि
लाजका ती गहना छन्,चम्किदिने जून पनि।

कमिला भन्दा सानो

कमिला भन्दा पनि सानो देख्न छोड्दैनन्
सहिदिंदा अझ शीरमाथि टेक्न छोड्दैनन्
सोझोको मुख कुकुरले पनि चाट्छ भनेझैं
प्रतिकार नगरेसम्म मान्छेले हेप्न छोड्दैनन्।

मनको लड्डु

मनको लड्डु खाई खाली पेट भर्ने कुरा नगर
पत्थरको मुटुमा प्रेमको बीज छर्ने कुरा नगर
एकपल्ट दिल तोडेर खुशी अन्तै खोजेपछि
गोही-आँसु झारी मेरो लागि मर्ने कुरा नगर।

देशको खोजी

क्याफेहरुको टेबल-कुर्सीहरुमा
चिया/कफीको चुस्कीसंगै
हाँस्यास्पद गसिपका उडानहरुमा
हामी देश खोजिरहेका छौं।

भट्टीहरुको चहलपहलहरुमा
चियर्सका ध्वनि-प्रतिध्वनिहरुसंग ठोक्किंदै
सुरा-सागरको गहिराइ नाप्दै
सितनहरुको गरम पहाड चढ्दै
बोत्तल र गिलासहरु साक्षी राखेर
मदका बेहोसीहरुमा
हामी देश खोजिरहेका छौं।

रंगीन डिस्कोहरुको कोलाहलमा
अर्धनग्न नर्तकीहरुको इशारामा चल्दै
कामुक कम्मरको लचकतासंग लहरिंदै
पुष्ट नितम्बहरुको कम्पनसंग हल्लिंदै
स्तनका उत्तरी-गोलार्द्धहरुमा
गुप्तांगका संवेदनशील सिमानाहरुमा
"ठमेल बजार" र "मुन्नी बदनाम"हरुमा
हामी देश खोजिरहेका छौं।

कार्यलयको घुम्ने मेचमा बिराजमान भई
फनफनी परिधिमा नाच्दै
टेबलमा सजाइएको ग्लोबलाई नचाउँदै
विश्व मानचित्रमा
हामी देश खोजिरहेका छौं।

सिनेमाहलको भीड छिचोल्दै
घण्टौं लाइनमा बसेर टिकट काटी
बाल्कोनीमा आसन-ग्रहन गरी
प्रेमी-प्रेमिकाको आलिंगनमा कस्सिएर
चुइँगम चपाउँदै,फुलाउँदै,पड्काउँदै
पपकर्न कर्याम-कर्याम पार्दै
हिन्दी सिनेमाका श्रव्य-दृष्यहरुमा
हामी देश खोजिरहेका छौं।

देश खोज्न हामी
बहकिरहेका छौं-भावनाहरुमा
कोरिरहेका छौं-पानाहरुमा
पुगिरहेका छौं-चोक र चौतारीहरुमा
यद्यपि हामीले देश भेट्टाइरहेका छैनौं
कारण-हामी कहिल्यै गएनौं-
कालापानी र सुस्ताहरुमा
कहिल्यै पुगेनौं-
महाकाली र दशगजाहरुमा! 
कहिल्यै सवारी भएनौं-
दुर्गम वस्तीहरुमा!!!

Thursday, 27 September 2018

स्वागत

पैसाको के कुरा, यो जिन्दगी नै लागत छ
एउटा सिंगो युगनै बोक्न सक्ने तागत छ
एकल यात्री!यहाँदेखि पर कुनै बस्ती छैन
यदि बास चाहिए यो दिलमा स्वागत छ।

यात्रा

बिहानदेखि दिन हुँदै रातसम्मलाई पाइला चालौं
दिउँसै ग्रहण लागे पनि आवश्यक परे दियो बालौं
को कहाँनेर छुट्टिन्छ त्यसको कुनै वास्ता नगरी
आउ प्रिया हामी मिलेर घाटसम्मको यात्रा थालौं।

दिलको बाटो

प्यास लागे,भोक लागे,के पिउने,के खाने हो
भौतारिनु हुन्न धेरै यात्री!मेरो यही माने हो
मैले थाहा पाइसकें,सोध्दिन तिम्रो गन्तव्य
तिमी सोध्छौ भने,यो दिलको बाटो जाने हो।

के फरक पर्छ

हट्टाकट्टा नभई जीर्ण भएर के फरक पर्छ
परिक्षामा पाँचौं उतीर्ण भएर के फरक पर्छ
जीवन-साथी भएपछि प्रेममा भने पूर्ण होस
सूक्ष्म बिषयमा संकीर्ण भएर के फरक पर्छ?

स्वीमिङ-पुल

खोला,नदी लगायत कुलको महत्व हुँदैन
जसरी भमरा बिना फूलको महत्व हुँदैन
धेरै भन्दा धेरै तनलाई स्पर्श गर्न नसके
ती आकर्षक स्वीमिङपुलको महत्व हुँदैन।

Wednesday, 26 September 2018

बाजहरु

कैदीझैं भएको छ जीवन हरदिनका काजहरुले
खुशी छैनन् यी रहरहरु सफलताका ताजहरुले
म त चाहन्छु मनको गगनमा निर्वाध उडिरहन
तर ठुँगिरहन्छन् हरपल बाध्यताका बाजहरुले।

गन्ध

सर्वसाधारणले पाउनुसम्मको सास्ती पाइरहेको देख्छु
कर्मचारी ३ घण्टा लाएर चियानास्ता खाइरहेको देख्छु
दुई-चार वटा हात्ती बिना त यहाँ केही काम हुनै सक्दैन
संघारमै घुस तथा भ्रष्टाचारको गन्ध आइरहेको देख्छु।

सिंहसन

छुट्टै जमिन,छुट्टै गगन बनाउने थिएँ
छुट्टै पानी,छुट्टै पवन बनाउने थिएँ
सक्ने भए तिम्रो लागि बनाएर राज्य
यौटा दरबार र सिंहसन बनाउने थिएँ।

चर्तिकला

हर घडी हर पला प्रदर्शन गर्छन्
धोक्रो जस्तै गला प्रदर्शन गर्छन्
अचेलका केटाकेटी लाज पचाई
आफ्नो चर्तिकला प्रदर्शन गर्छन्।

हिटलर र आत्महत्या

जति उकालो चढेपनि अन्ततः ओरालो झरेको रेकर्ड छ
कोही छैनन् अमर,सबैको शवमा सुमन परेको रेकर्ड छ
जगजाहेर नै छ-पैसा,सत्ता र शक्ति केवल क्षणिक हुन्छन्
जति तागत होस,हिटलरले आत्महत्या गरेको रेकर्ड छ।

नकारात्मकता

धेरै दिनदेखि हामी चिच्याइरहेका छौं-
अधिकार चाहियो
हाम्रो माग पूरा गर
यसो गर्न पाइँदैन
उसो गर्न पाइँदैन
तर मनको शब्दकोषबाट हटाइएको छ-
"कर्तव्य" नामको शब्द।

महिला/पुरुषहरुलाई चाहिएको छ
सम्पन्नता
सम्पति
भोग-विलासिता
तर चाहिएको छैन-पति/पत्नी।

छोराछोरीहरुलाई पूरा गर्नुछ-
असीमित रहर र आवश्यकताहरु
चाहिएको छ- 
उच्च शिक्षा
अंश
माया 
तर चाहिएको छैन-बा-आमा!

हामीलाई चाहिन्छ
समृद्धि
सुशासन
विकास
बजेट
तर भाग्छौं-कामबाट।

हामी खोजी गरिरहेका छौं-
प्रदुषणरहित पर्यावरण
स्वस्थ जीवन
स्वच्छ हावा
हरित वनजंगल
तर दिनानुदिन गरिरहेका छौं-वन-फडानी
मानसिकता छैन-बृक्षारोपणको।

हामीलाई मनग्ये आम्दानी चाहिन्छ
रोजगार चाहिन्छ
तर वरिपरिको रोजगार देख्दैनौं
देखेपनि लाज भन्ने जिनिसले गर्न दिंदैन
त्यहाँ रोकिरहेको हुन्छ-आत्मसम्मानले
छेकिरहेको हुन्छ-इगोले
बाधक बनिरहेको हुन्छ-सर्टिफिकेट!

हामी यहाँ केही पनि देखिरहेका छैनौं
सम्भावना देखिरहेका छैनौं
हाम्रो आँखा अगाडि
एउटा ठूलो साइनबोर्डमा लेखिएको छ-
असम्भावना।

हाम्रो मस्तिष्कबाट स्थायीरुपले मेटिएको छ-सकारात्मकता
चारैतिर भरिएको छ-
नकारात्मकता-नकारात्मकता-नकारात्मकता।

Tuesday, 25 September 2018

विष्णुको अवतार

बिचार भन्दा बलियो हतियार हो भन्न बेर छैन
नीतिको कवच केवल तरवार हो भन्न बेर छैन
सदियौंदेखिनै यहाँ शक्तिकै पूजा हुँदै आएको छ
ज्यानमारानै विष्णुको अवतार हो भन्न बेर छैन

मन्द-विष

        जब म अन्धकारमा छट्पटाइरहेको थिएँ।निस्सासिरहेको थिएँ।मेरो जिन्दगी भित्रको जिन्दगी हराइरहेको थियो।संसारको कुनै निर्जन बिन्दुमा विलिन हुँदै थिएँ।त्यतिनैबेला तिमी आफ्नो रुपको दियो बाल्दै मेरो मनको संघारमा पाइला टेक्यौ।सोचें-मेरो मार्ग जाज्वल्यमान भयो।सोचें-औंशीमय जिन्दगी पूर्णेमय भयो।जिन्दगीको भीरबाट हाम्फालिरहेका निराश जिजीविषाहरु एकाएक माथि उक्लिएझैं लाग्यो।अनि लक्ष्यको लय समाउन भ्याए झैं।तिम्रो पाउजूको झंकार सुन्दा लाग्यो-म संगीतको रागमा पूर्णरूपमा लीन हुँदैछु।पदचापको ध्वनि सुन्दा लाग्यो-समयले प्रगतिको सूचकस्वरुप अलार्म बजाइरहेछ।तिमीले चार औंलाहरुको सहायताले पानको पात बनाएर देखाउँदा नामी जादूगर्नीको जादू हेरेर मोहित भएझैं भएँ।तर अहिले आएर बुझ्दैछु-त्यो मायाको प्रतिविम्ब नभएर फाँसीको फन्दा रहेछ।अचम्म लाग्छ कि किन फाँसीको फन्दामा चढ्न त्यति विध्न लालयित थिएँ।त्यो रुपको दियो त निर्दोष पूतलीहरुको ज्यान लिने दियो भन्दा पनि खतरनाक रहेछ।बरु पूतलीहरु त हाम्फाल्ने बित्तिकै स्वर्गारोहण गर्छन्।तर म त तिम्रो दियोको जलनले पटकपटक जल्दै घाइते भएको छु।अचेल तिम्रो पाउजूको छमछ्म सम्झिंदा पनि त्राही-त्राही हुन्छु।कोर्रा हाने जस्तो शरीरमा झट्का लाग्छन्।कानमा हैन सिधै मुटुमा गएर बिझ्छन् ती घातक प्रतिध्वनिहरु।हामी दुबै मिलेर स्वीमिङ-पुलमा हाम्फाल्दा लाग्थ्यो-स्वर्गमा हाम्फाल्दैछौं।तर अहिले लाग्छ-तिमीले मेरो हात समाएर नर्कमा पुर्याएका थियौ।ती पलहरु स्मरण गर्दा लाग्छ-अझै म त्यही नारकीय पुलमा हातखुट्टा फट्फटाएर गुहार माग्दैछु।जिन्दगीको भीख माग्दैछु।त्यो पुलको पानी गर्मी मौसममा कति शीत्तल लाग्थ्यो।वास्तवमा त्यहाँ पानी रहेनछ।त्यहाँ त गाढा सल्फ्युरिक एसिड रहेछ।मनको धरातलमा अझै भत्भती पोलिरहेछ।खुइलिएको छ मेरो दिव्य-मुहारको चर्म।साँच्चैको एसिडले भन्दा छलकपटको एसिडले धेरै गहिरो घाउ बनाउने रहेछ।

           हामी रम्न गएको नगरकोटको घना-जंगल पनि अचेल जंगल जस्तै लाग्दैन भन्या!मलाई त उजाड पहाड लाग्छ।वरपरका डाँडाकाँडा र अलौकिक दृष्यहरुको अवलोकन गर्न चढिएको त्यो भ्यू-प्वाइन्ट पनि सुसाइड-प्वाइन्ट जस्तो लाग्न थालेको छ।परोक्ष रुपमा तिमीले मलाई त्यो टावरबाट घचेटिसकेका रहेछौ।बर्षौंपछि बल्ल बुझ्दैछु।अनि त्यहाँको रेस्टुरेन्टमा गएर चाउमिन र म:म: मगाएर खाएको पनि बिर्सन सक्दिन।तिमीले मेरो आँखा छलेर मन्द-विष हाले जस्तो लाग्यो।तत्कालै असर देखिएन।अहिले बल्ल देखिरहेछ।नत्र मेरो शरीर यति ख्याउटे हुन्थेन होला।अनि आलोपालो तस्वीरहरु पनि खिचेका थियौं नि हगि?ती तस्वीरहरुलाई जमानामै मोबाइलबाट डिलिट गरिसकेको थिएँ।तर मेरो मस्तिष्कको ग्यालेरीमा अझैसम्म दीर्घकालीन अमिट छाप भएर विराजमान छन्।हजारौं पटक डिलिट गर्दा पनि हुँदै भएनन्।

चुँडिएको चङ्गा

चुँडिएको चंगा धागोसंग जोडिन्छ जस्तो लाग्दैन 
चिसिएको दाउरा आगोसंग जोडिन्छ जस्तो लाग्दैन
तोडिएको मन मनसंग जोडिन नसकिएको  जस्तै
टिपिएको फूल हाँगोसंग जोडिन्छ जस्तो लाग्दैन।

सुन

होस् गरी बोल्नुस् उसको,रिसाउँछ खुन
स्वार्थमा अल्झी क्रान्तिको बिसाउँछ धून
छोड्नुस् ती मार्क्स र साम्यवादका कुरा
सर्वहारा नेताको हातमा बिझाउँछ सुन।

भाइरस

सफा भएका मनहरु मैलिसकेका छन्
इमान्दारिताका फूल वैलिसकेका छन्
खबरदार!एड्स भन्दा पनि खतरनाक
भ्रष्टाचारका भाइरस फैलिसकेका छन्।

तिमी नहुँदा

सगरमाथा आस्थाको ढल्छ तिमी नहुँदा
भरोसाको हिमाल गल्छ तिमी नहुँदा
विश्वासको आकाश खस्छ तिमी नहुँदा
पिरतीको सागर जम्छ तिमी नहुँदा।

तिमी भए मात्र चल्छ मुटुको ढुकढुकी
तिमी भए मात्र जल्छ जिन्दगीको टुकी
रगत पनि बगिदिन्छ तिम्रै इशाराले
इन्द्रियहरु चल्दैनन् आ-आफ्ना पाराले।

सास फेर्न खुशीको तिमी देख्नुपर्छ
संघारमा मनको पाइला टेक्नुपर्छ
सप्तरंगी इन्द्रेणी फिक्का फिक्का लाग्छ
तिमी टाढा भएमा दिक्का दिक्का लाग्छ।

Sunday, 23 September 2018

देशको खोजी

देश खोज्न हामी गयौं-भावनामा
देश खोज्न हामी पुग्यौं-पानामा
तर हामीले देश भेट्टाएनौं
कारण-देश खोज्न हामी कहिल्यै गएनौं-
कालापानी र सुस्तामा।

कोइलीको कुहु

कोइलीको कुहु भन्दा मीठो तिम्रो गीत
गुलाबको रंग भन्दा गाढा तिम्रो प्रीत
बात गरी बस्न पाए थोरै तिमी सित
हित्त चित्त मिल्न गई हुन्थ्यो हाम्रो जीत।

महादेवको पार्वती झैं,मुरारीको राधा
तिमी बिना हुन्छ मेरो जिन्दगी नै आधा
तडकभडक छैन मेरो,जीवनशैली सादा
रंगीन हुन्छ एकैपल्ट तिम्ले म्वाई खाँदा।

भेट हुनु अगाडि नै नबनिदेउ टाटा
सकेसम्म नजिक आउ,नभैदेउ टाढा
मीठो मीठो नखाएनी खाउँला पिठो आँटा
फाइदा हुन्छ तिमी आए,गए हुन्छ घाटा।

तिम्रो दिलमा स्थायी बास

तिम्रो दिलमा स्थायी बास बसिरहँदा मैले
कालापानी,सुस्ता जस्तै मिचिदियो कसैले।

कति नाजुक रैछ मन,दृढ हुन नसक्ने
कति प्यासी रैछ तन,प्यास बुझ्न नसक्ने
फुकाइदियो सजिलै प्रेमको गाँठो कसैले
कालापानी,सुस्ता जस्तै मिचिदियो कसैले।

ज्वालामुखी फुटिजाने कच्चा जमिन रहेछौ
भुकम्पको झट्काले नि धुजा धुजा भएछौ
सुकेको त्यो परालमा लायो आगो कसैले
कालापानी,सुस्ता जस्तै मिचिदियो कसैले।




Saturday, 22 September 2018

युगनारी

यथार्थमा तिम्रा आँखाहरु
गाजालु छैनन्
नशालु छैनन्
निभिरहेका मधुरा चिमहरु झैं छन्
तर त्यहाँ स्नेहका गहिरा सागरहरु छन्
तिम्रै आँखाहरुबाट मैले देखेको छु-
विशाल संसार।

गालाहरु पोटिला छैनन्
चाउरिएका छन्
ओठहरु रसिला छैनन्
रंगीन छैनन्
मुहार-जून जस्तो छैन
तर तिमीले मलाई जून जस्तै बनाइदियौ
कहिल्यै तिर्न नसिकिने गुन लाइदियौ।

तिम्रो केशराशी घना छैन
वन-फडानी भएको पहाड जस्तै छ
तर जति छन्-सुनगाभा झैं फुलेका छन्
पहरारुपी शीर सजिएको छ।

केशका तन्तु-तन्तुमा छन्-अनगिन्ती अनुभव र भोगाइका शृंखला
तिनले सहेका छन्-कैयौं बर्षातका झट्काहरु
भोगेका छन्-हजारौं समस्याका पर्वतहरु
बोकेका छन्-प्रतिकूल समयका नाम्लाहरु
सिकेका छन्-अवर्णनीय पाठहरु।

तिम्रा स्तनहरु
कस्सिला छैनन्
भरिला छैनन्
तर तिनै माछापूच्छ्रे र कंचनजंघाका गल्छेडाहरुबाट
बगेको कञ्चन अमृत-जल पिएर
मैले जिन्दगी जिएको छु।

भित्र-भित्रै धमिराले खाएर
आँधी-तुफान,घामपानी,असिनाले पिटेर
ढल्न लागेको बूढो रुख झैं
मक्किएकी छ्यौ तिमी
तिम्रो शरीरमा शक्तिको क्षयीकरण हुँदैछ
रगतको मूल सुक्दैछ
तर मेरो नशा-नशामा तिम्रै रगत सवार छ।

जस्तोसुकै नाजुक/प्रतिकूल स्थितीमा पनि
तिम्रो मुटुमा मायाको बाढी-
उसैगरी उर्लिरहेको छ
साँच्चै तिमी महान छ्यौ
मेरो लागि तिमी स्वर्ण-युगकी नारी हौ।

तिम्रो अस्तित्व कहिल्यै मेटिने छैन
किनकी तिमी म भैसकेकी छ्यौ
म अरु कोही भैसकेको छु
यस्तै शिलशिला जारीरहनेछ-युगानुयुग।

हेर्छु म पनि

हतियार जित्छ कि मन जित्छ,हेर्छु म पनि
खुकुरी जित्छ कि गर्धन जित्छ,हेर्छु म पनि
आजको अनौठो म्याराथन प्रतियोगितामा
रक्सी जित्छ कि सितन जित्छ,हेर्छु म पनि।

Friday, 21 September 2018

को सही

को सही को गलत,चिन्न पाए हुन्थ्यो
हृदय हेर्ने ऐना किन्न पाए हुन्थ्यो।

आँखा सुन्दर भएपनि दृष्टि फरक हुनसक्छ
बाह्य जस्तो भएपनि भित्री फरक हुनसक्छ
मुखले जस्तै माया दिलले लाए हुन्थ्यो
भावनाको मापक किन्न पाए हुन्थ्यो।

देखिएको असल कुरा खराब पनि हुनसक्छ
आवरण जो भ्रम छर्ने नकाव पनि हुनसक्छ
अरुलाई दिने धोका स्वयं खाए हुन्थ्यो
माया नाप्ने मेशिन किन्न पाए हुन्थ्यो।

Thursday, 20 September 2018

राजकुमारी

कम्मर त्यो मर्काएर हिंड्ने
केटाहरु थर्काएर हिंड्ने
गालाहरु पड्काएर हिंड्ने
बोलीहरु चर्काएर हिंड्ने
कस्ती होलिन् मेरी प्राणपियारी
कस्ती होलिन् मेरी राजकुमारी।

धेरै पढे-लेखेकी,जागिर खाँदै गरेकी
उमेरले एक्काईस,हेर्दा हिस्सी परेकी
मिर्मिरेमा उठेर पूजा गर्ने बानी होस्
फुर्सदमा आएर माया गर्ने बानी होस्।

मीठो खाना पकाएर ख्वाउने
टीका,फुली,सारी,चोलो लाउने
अफिस जाँदा टाइ लाई दिने
झुक्याएर म्वाइ खाइ दिने
कस्ती होलिन् मेरी प्राणपियारी
कस्ती होलिन् मेरी राजकुमारी।

सदैव मुस्कानको दियो बालिराख्ने होस्
प्रीतिको गमलामा पानी हालिराख्ने होस्
उध्रीएको जिन्दगी स्वयं टालिराख्ने होस्
कष्टसंग लडेर पीडा फालिराख्ने होस्।

धेरै केटा पट्याएर हिंड्ने
छोटो लुगा लगाएर हिंड्ने
आँखाहरु सन्काएर हिंड्ने
ट्याटुहरु खोपाएर हिंड्ने
कस्ती होलिन् मेरी प्राणपियारी
कस्ती होलिन् मेरी राजकुमारी।

परिचय

भएभरका प्रमाणपत्र फाटेर देखाउँछु
जेलमा राख्छौ त राख,बसेर देखाउँछु
नसोध नागरिकता,नखोज राहदानी
मेरो परिचय छाती च्यातेर देखाउँछु।

विहानीको किरण

विहानीको किरण बनी छोए जस्तै लाग्छ
तप्प तप्प शीत बनी रोए जस्तै लाग्छ
गएपछि तिमी माथी,यस्तै-यस्तै लाग्छ।

स्मृतिमा आउँछ्यौ तिमी अझ गाढा बनेर
हेरी बस्छ्यौ रमिता धेरै टाढा बसेर
सिरसिरे हावा बनी छोए जस्तै लाग्छ
श्रावणको झरी बनी रोए जस्तै लाग्छ
गएपछि तिमी माथी,यस्तै-यस्तै लाग्छ।

आफैं मात्र गयौ किन मलाई एक्लै छोडेर
मलाई पनि आउ लिन भन्छु हात जोडेर
हिउँदको हिउँ बनी छोए जस्तै लाग्छ
पहराको झर्ना बनी रोए जस्तै लाग्छ
गएपछि तिमी माथी,यस्तै-यस्तै लाग्छ।

आवाज तिम्रै

आवाज तिम्रै,गुञ्जिन्छ अझै,मेरो कानमा
उत्तिकै माया,लाग्दैछ प्यारी,अझै मनमा
कम्जोरी कस्को,भैदियो कुन्नि,तिमी जानमा
लागेको हो कि,सायद तिम्रो,आँखा धनमा।

नजोख्नु होला,पिरतीलाई,चाँदी सुनसंग
नदाँज्नु होला,जवानीलाई,तारा जूनसंग
बैँस त भरे ढल्केर जाने रात जस्तै हो
शिशिर याममा झरेर जाने पात जस्तै हो।

फर्केर आउ,मागौंला माफी,गर्छु प्रतीक्षा
भैदिन्छ गल्ती,भएनी जस्को,गरौं समीक्षा
फकाउ तिमी,कहिलेकाही,मैले फकाउँला
अहिलेसम्म रहेछौं काँचो,संगै पाकौंला।

जाने बेला नरोकेर

जाने बेला नरोकेर टोलायौ तिमीले
धेरै टाढा पुगेपछि बोलायौ तिमीले
मेरा केही बाध्यता छन् फर्की आउनलाई
हराएको माया फेरि फिर्ता पाउनलाई।

गएपनि जाओस् भन्ने तिम्रो भावना थ्यो
नजाउ भनी रोकोस् भन्ने मेरो चाहना थ्यो
गरिदिएँ पूरा तिम्रो मनको चाह लाई
ढुंगा हानी गल्ती गर्यौ जमेको दहलाई।

गल्ती उस्तै दोहोरिए अरु कसैसँग
हुनसक्छ फेरि पनि आफ्नै जीवन भंग
मन आकाश हुनुपर्छ माया लाउनलाई
गुमाउनुपर्छ धेरै केही पाउनलाई।

रक्त-अल्पता

धेरै दिन देखि मेरी आमा(नेपाल)
सिकिस्त बिरामी भएर
अस्पतालको शैय्यामा लडिरहेकी छिन्
घरीघरी छट्पटाउँछिन्
घरीघरी बर्बराउँछिन्
अधिक ज्वरोले इन्तु न चिन्तु छिन्।

केही दिन अघि भन्दैथिईन्-छाती दुखेको छ
देब्रे पाटो छामेर आर्तनाद गर्दै थिईन्
सायद राष्ट्रियताको मुटु दुखेर होला
मुटु कमजोर भएर होला।

डाक्टर-साब!
के भएछ मेरी आमालाई?
राम्रोसँग हेरिदिनुपर्यो
उसको मांसपेशी(माटो)कोट्याएर
सूक्ष्म-दर्शक-यन्त्रमा राखेर नियाल्नुपर्यो
कतै राष्ट्रघातक किटाणु परेको छ कि!

रक्त-परिक्षण पनि गर्नुस् साब!
केही दिन अगाडि कुपुत्रहरुले
जबर्जस्ती उनको रगत(नदीनाला)निकालेर-
बेच्दै गरेको देखेको थिएँ
कतै रक्त-अल्पता त भएको छैन?

अनि एकपटक
स्वाभिमानको प्रेसर पनि हेर्नुहोला
कतै लो(कम) त भएको छैन?

के रे-के रे?
यहाँ ठिक हुन्न रे?
दिल्ली लानुपर्छ रे?
धेरै दिन बाँच्दैन रे?
तपाईं यो के भन्दै हुनुहुन्छ?
किन हुन्न ठिक?
प्लीज डाक्टर साब!
मेरी आमालाई बचाउनुस्
जसरी पनि यही ठिक गरिदिनुस्
यहींको औषधिले निको पारिदिनुस् 
सयौं थरीका अमूल्य जडिबुटी यहीं छन्
बरु हिमालै उठाएर ल्याइदिउँला।

त्यसरी पनि ठिक नभए
देशप्रेमको ट्याब्लेट पो ख्वाउनुपर्ने हो कि!
राष्ट्रभक्तिको सलाइन पो चढाउनुपर्ने हो कि!

Wednesday, 19 September 2018

यौटी जून

यौटी जून अस्ताई
अर्की जून उदाई
दुवै उस्तै चम्किली
दुवै उस्तै रुपशी
दोधारमा परें म त कुनलाई मनमा सजाउनी

जतिपल्ट खोजेपनि देखिएन दाग
जवानीको संगीतमा कति मीठो राग
मनले त भनिरहेछ दुवैतिर लाग
सोचिरहेछु कुन होली बा-आमाको माग
         +++
यौटी परी नक्कली
अर्की परी पूतली
दुवै उस्तै पातली
दुवै उस्तै गाजली
दोधारमा परें म त कुनलाई मनमा सजाउनी

सम्पत्तिको नाममा अझै छैन आना सुकी
दिनहरु बित्छन् सधैं नानीहरु ढुकी
छिमेकीले देख्लान् भनी बस्छु लुकी-लुकी
कतै दुवै फुत्किन्छन् कि भनी हुन्छु दुखी
          +++
एउटी नानी हँसिली
अर्की नानी फर्सिली
दुबै उस्तै हँसाउनी
दुबै उस्तै लजाउनी
दोधारमा परें म त कुनलाई घरमा सजाउनी

Tuesday, 18 September 2018

स्यालहरु

स्यालहरु माल खाएर पल्केका हुन्
-यालहरु चाल पाएर छल्केका हुन्
नत्र भने कहाँ छोड्थे र दाल पनि
ख्यालहरु हाल अघाएर ढल्केका हुन्।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...