दुई छाक मीठो-मसिनो परिवारसंग खाएर
दु:ख-सुख साट्दै
सन्तुष्टिको सास फेर्नु
वास्तविक सम्पन्नता रहेछ।
डाइनिङ रुम र टेबल होस् या नहोस्
दालमा थोरै अपनत्वको तड्का होस्
भातमा थोरै सामिप्यता मिसिएको होस्
अचारमा थोरै मुस्कान थपिएको होस्
पस्किने बेला प्रेमपूर्वक पस्कियोस्
यही वास्तविक सम्पन्नता रहेछ।
जोइपोइ ख्याल-ठट्टा गर्दै
थोरै रिस,थोरै माया साँचेर
बेला-बेलामा ठाक्क-ठुक्क पर्दै
पालैपालो एकले अर्कोलाई फकाउनु
वास्तविक सम्पन्नता रहेछ।
नानी/बाबुहरु स्कुल जाँदा
फेरि भेट्ने वाचाका साथ हात हल्लाउँदै
खुशीका साथ बिदा हुनु
स्कुलबाट फर्केपछि
हर्षले गदगद हुँदै आलिंगनमा बेरिनु
वास्तविक सम्पन्नता रहेछ।
हिउँदको मौसममा
विहानीको कलिलो रापसंगै
प्यारीसित चौरमा निस्केर
आँखामा आँखा जुघाउँदै
मौनताका सांकेतिक भाषा बोल्दै
बदाम र सुन्तलाको स्वाद लिनु
वास्तविक सम्पन्नता रहेछ।
माथिल्लोस्तरको रेस्टुरेन्टमा गएर
महंगा परिकारहरु मगाएर
स्वाद लिने बखतमा
साथमा साथ भएन भने
थोरै खाइदिने हात भएन भने
त्यो चरम गरिबीको सचित्रण हो।
गगनचुम्बी भवनमा बसेपनि
कार चढेर हिंडेपनि
खुशीमा हाँसिदिने ओठ भएनन् भने
दु:खमा रोइदिने आँखा भएनन् भने
साँचो प्रेम गर्ने मुटु भएन भने
त्यो घर दिउँसै अन्धकार हुन्छ
र ऊ जत्तिको दरिद्र अरु कोही हुँदैन।
फूटपाथमै किन नहोस्
चट्पटेको पीरोले जिब्रो निकालेर सास फाल्नु
पानीपुरी निलेर सन्तुष्ट प्रतिकृया देखाउनु
अन्तिममा बचेको एक पिस-
एकले अर्कोलाई जबर्जस्ती ख्वाउन खोज्नु
वास्तविक सम्पन्नता रहेछ।
No comments:
Post a Comment