क्याफेहरुको टेबल-कुर्सीहरुमा
चिया/कफीको चुस्कीसंगै
हाँस्यास्पद गसिपका उडानहरुमा
हामी देश खोजिरहेका छौं।
भट्टीहरुको चहलपहलहरुमा
चियर्सका ध्वनि-प्रतिध्वनिहरुसंग ठोक्किंदै
सुरा-सागरको गहिराइ नाप्दै
सितनहरुको गरम पहाड चढ्दै
बोत्तल र गिलासहरु साक्षी राखेर
मदका बेहोसीहरुमा
हामी देश खोजिरहेका छौं।
रंगीन डिस्कोहरुको कोलाहलमा
अर्धनग्न नर्तकीहरुको इशारामा चल्दै
कामुक कम्मरको लचकतासंग लहरिंदै
पुष्ट नितम्बहरुको कम्पनसंग हल्लिंदै
स्तनका उत्तरी-गोलार्द्धहरुमा
गुप्तांगका संवेदनशील सिमानाहरुमा
"ठमेल बजार" र "मुन्नी बदनाम"हरुमा
हामी देश खोजिरहेका छौं।
कार्यलयको घुम्ने मेचमा बिराजमान भई
फनफनी परिधिमा नाच्दै
टेबलमा सजाइएको ग्लोबलाई नचाउँदै
विश्व मानचित्रमा
हामी देश खोजिरहेका छौं।
सिनेमाहलको भीड छिचोल्दै
घण्टौं लाइनमा बसेर टिकट काटी
बाल्कोनीमा आसन-ग्रहन गरी
प्रेमी-प्रेमिकाको आलिंगनमा कस्सिएर
चुइँगम चपाउँदै,फुलाउँदै,पड्काउँदै
पपकर्न कर्याम-कर्याम पार्दै
हिन्दी सिनेमाका श्रव्य-दृष्यहरुमा
हामी देश खोजिरहेका छौं।
देश खोज्न हामी
बहकिरहेका छौं-भावनाहरुमा
कोरिरहेका छौं-पानाहरुमा
पुगिरहेका छौं-चोक र चौतारीहरुमा
यद्यपि हामीले देश भेट्टाइरहेका छैनौं
कारण-हामी कहिल्यै गएनौं-
कालापानी र सुस्ताहरुमा
कहिल्यै पुगेनौं-
महाकाली र दशगजाहरुमा!
कहिल्यै सवारी भएनौं-
दुर्गम वस्तीहरुमा!!!
No comments:
Post a Comment