Thursday, 20 September 2018

रक्त-अल्पता

धेरै दिन देखि मेरी आमा(नेपाल)
सिकिस्त बिरामी भएर
अस्पतालको शैय्यामा लडिरहेकी छिन्
घरीघरी छट्पटाउँछिन्
घरीघरी बर्बराउँछिन्
अधिक ज्वरोले इन्तु न चिन्तु छिन्।

केही दिन अघि भन्दैथिईन्-छाती दुखेको छ
देब्रे पाटो छामेर आर्तनाद गर्दै थिईन्
सायद राष्ट्रियताको मुटु दुखेर होला
मुटु कमजोर भएर होला।

डाक्टर-साब!
के भएछ मेरी आमालाई?
राम्रोसँग हेरिदिनुपर्यो
उसको मांसपेशी(माटो)कोट्याएर
सूक्ष्म-दर्शक-यन्त्रमा राखेर नियाल्नुपर्यो
कतै राष्ट्रघातक किटाणु परेको छ कि!

रक्त-परिक्षण पनि गर्नुस् साब!
केही दिन अगाडि कुपुत्रहरुले
जबर्जस्ती उनको रगत(नदीनाला)निकालेर-
बेच्दै गरेको देखेको थिएँ
कतै रक्त-अल्पता त भएको छैन?

अनि एकपटक
स्वाभिमानको प्रेसर पनि हेर्नुहोला
कतै लो(कम) त भएको छैन?

के रे-के रे?
यहाँ ठिक हुन्न रे?
दिल्ली लानुपर्छ रे?
धेरै दिन बाँच्दैन रे?
तपाईं यो के भन्दै हुनुहुन्छ?
किन हुन्न ठिक?
प्लीज डाक्टर साब!
मेरी आमालाई बचाउनुस्
जसरी पनि यही ठिक गरिदिनुस्
यहींको औषधिले निको पारिदिनुस् 
सयौं थरीका अमूल्य जडिबुटी यहीं छन्
बरु हिमालै उठाएर ल्याइदिउँला।

त्यसरी पनि ठिक नभए
देशप्रेमको ट्याब्लेट पो ख्वाउनुपर्ने हो कि!
राष्ट्रभक्तिको सलाइन पो चढाउनुपर्ने हो कि!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...