Wednesday, 12 September 2018

कलम

खर्बौंको भीडमा छन्-करोडौं कलमहरु
हमेसाका लागि सुतेका कलमहरु
विश्राम लिइरहेका थकित कलमहरु
भर्खरै जन्मिरहेका शिशु कलमहरु
जुर्मुराउँदै उठिरहेका कलमहरु
बामे सर्दै गरेका बालक कलमहरु
तीव्र गतिमा दौडिरहेका युवा कलमहरु
तुफान जस्तै उडिरहेका जुझारु कलमहरु!

कुनै कलमहरुले
कोरिरहेका छन्-रगतका बलिदानीहरु
ओकलिरहेका छन्-पसिनाका कथाहरु
उठान गरिरहेका छन्-आँशुका व्यथाहरु
बोलिरहेका छन् आवाजविहीनहरुका आवाजहरु!

कुनै कलमहरुले
पत्रिकाहरुको टुंडिखेलमा निस्केर
जिन्दावाद र मुर्दावादका नाराहरु लाउँदैछन्
तानाशाह र अधिनायकवादहरुलाई
खबरदारी गरिरहेका छन्।

अब कलमहरु ससक्त हुनुपर्छ
आँधी बनेर उडाउनुपर्छ-अत्याचारका छानाहरु
सुनामी बनेर भत्काउनुपर्छ-अन्यायका पर्खालहरु
चट्याङ बनेर ढाल्नुपर्छ-अराजकताका पिल्लरहरु
आगो बनेर बाल्नुपर्छ-निरंकुशताका परालहरु
तोप बनेर तोड्नुपर्छ-दासताका पिंजडाहरु
भुकम्प बनेर हल्लाउनुपर्छ-भ्रष्टाचारका जगहरु
बाढी बनेर बगाउनुपर्छ-कुरीतिका अवशेषहरु
बम बनेर चर्काउनुपर्छ-अन्धविश्वासका कंक्रीटहरु
ज्वालामुखी भएर बिस्फोट हुनुपर्छ-कमजोर मानसिकताको धरातलबाट।

अब कलमहरुले
बिष बनेर ओकल्नुपर्छ-दलालहरुको अखडामा
छुरी बनेर चल्नुपर्छ-बलात्कारीहरुको लिंगमा
गोली बनेर पड्किनुपर्छ-अपराधीहरुको छातीमा
फाँसीको फन्दा बनेर बेरिनुपर्छ-ज्यानमाराहरुको गलामा।

अब कलमहरुले
शालीन बनेर लेख्नुहुन्न सुन्दर कविता मात्र
प्रेमिल बनेर केर्नुहुन्न प्रेमका गीतहरु मात्र
प्रकृतिप्रेमी बनेर उतार्नुहुन्न प्रकृतिका चित्र मात्र
शान्त भएर सल्बलाउनु हुन्न समुद्रको चालमा मात्र।

लेख्नुपर्छ अब-कुटिलताको कुरुप कविता पनि
खिच्नुपर्छ-दुश्मनहरुको दिमाग खाने स्केच
उतार्नुपर्छ-ज्यादतीको बीभत्स दृष्य
प्रयोग गर्नुपर्छ-मुटु छिया-छिया पार्ने ब्लेड जस्ता शब्दहरु
पोत्नुपर्छ-कानको जाली फुट्ने मसीहरु!

अब कलमले लेखेर मात्र बस्नुहुन्न
कलमले-आवाज सुन्नुपर्छ
कलमले- बोली बोल्नुपर्छ
कलमले- दृश्य हेर्नुपर्छ
कलमले-भित्र/बाहिर सुम्सुम्याउनुपर्छ
कलमले-गन्ध सुघ्नुपर्छ
कलमले-स्वाद चाख्नुपर्छ।

कलमले कलम मात्र भएर बस्नुहुन्न
कलमले अब तरवार पनि बन्नुपर्छ
कलमले शक्तिशाली क्षेप्यास्त्र बन्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...