Thursday, 13 September 2018

महासंग्राम

अनकन्टार जंगलमा नाटक मञ्चन हुँदैछ
रंगमञ्चको पर्दा उघारिएसंगै
पशुपंक्षी-दर्शकहरुले ताली बजाउँछन्
कोही चिच्याउँछन्
कोही सुसेली मार्छन्
एउटा कुकुर पूच्छर  हल्लाउँदै मञ्चमा प्रवेश गर्छ
अर्को कुनाबाट निस्किन्छ कान फट्फटाउँदै-बोका
एउटा गधा कम्मर मर्काउँदै उपस्थित हुन्छ
तीनैजना श्रद्धापूर्वक एक-अर्कालाई नतमस्तक अभिवादन गर्छन्।

संवाद अगाडि बढ्छ।

हामी कुकुरहरु
दिनरात मालिकहरुको सेवामा हाजिर हुन्छौं
चौबिसै घण्टा पहरेदारी गरेर सुरक्षा दिन्छौं
तर हाम्रो श्रमको यहाँ कुनै मूल्य छैन
हाम्रो इमान्दारिताको कुनै अर्थ छैन
सदियौंदेखि हामी शोषित छौं
ताजा-ताजा उनीहरू हसुर्छन्
बासी-सडेगलेको हाम्रो भागमा पर्छ
मासु जति आफू खाएर हड्डी जति हामीतिर मिल्काउँछन्
सम्झिंदा त आँसु झर्छ
पीडाबोध हुन्छ
आत्मग्लानी हुन्छ
आफ्नै जिन्दगी बोझ लाग्छ
पाएको जिन्दगी जबर्जस्ती जिइरहेका छौं।

बेइमान त मान्छेहरु नै हुन्
लुचा,फटाहा,मति-भ्रष्ट,चोर,डाका,बैगुनी सबै उनीहरू नै हुन्छन्
दिनप्रतिदिन नैतिकताको धरातलबाट पतन भैरहेकाछन्
स्वार्थको लागि एक-अर्कामा काटाकाट-मारामार गरिरहेछन्
कुनै कसर बाँकी राखेका छैनन्
अनि एक-अर्कालाई गाली दिंदा हाम्रै नाम जोडेर भन्छन्-
"साले कुकुर"!

हाम्रो अपमान गर्ने कुनै अधिकार छैन तिनीहरुलाई
इमान्दार हामी नै छौं
वफादार हामी नै छौं
लाचार पनि हामी नै छौं
अब मौन बसेर हुन्न साथी हो!
मान्छेको विरुद्धमा युद्ध छेड्नुपर्छ
मलाई साथ दिने कोही छ?

बोका उत्तेजित भएर उफ्रिन्छ
गधा स्वीकृतिको शीर हल्लाउँछ।

बोका उत्साहित हुँदै बोल्छ-
हो-हो,खत्तम त मान्छे नै हुन्
उनीहरू ज्यानमारा हुन्
शोषक हुन्
हामी बोकाहरुलाई घाँस ख्वाएर पाले झैं गर्छन्
ठूलो भएपछि खसी बनाउँछन्
जीवनभर बाख्रासंग रोमान्स गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो
हाम्रो अधिकार हनन गरेर उत्पात मच्चाइरहेका छन्
दिनदहाडै मार हानेर कराइमा फ्राइ गर्छन्
अरु त के पूच्छर र कान समेत छोड्दैनन्।

के बहु-बाख्रासंग सहवास गर्नु हाम्रो रहर हो?
मान्छे आफैंले जिम्मेवारी सुम्पिन्छन्
काम फत्ते नगरे यातना भोग्नुपर्छ
विवशताको जञ्जिरले बाँधिएका छौं हामी
हामीले पूर्ण आयु कहिल्यै जिउन पाएनौं।

खुरापाती त मान्छे नै हुन्
स्त्रीहरुको इज्जतसंग उनीहरू नै खेल्छन्
दानव भन्दा उग्र भएर बलात्कार गर्छन्
कैयौं चेलीहरुलाई भोगेर हत्या गरिरहेछन्
कहालीलाग्दा कोठीहरुमा बेचिरहेका छन्
अत्याचारको पराकाष्ठा नाघिरहेका छन्
आफ्नो चारित्रिक प्रमाणपत्रमा आफैं ल्याप्चे हान्छन्
अझ उनीहरु नै हाम्रो नाम जोडेर भन्छन्
"साला बोका"!

हो,अब हामीले अन्याय सहेर बस्नुहुन्न
ज्यानमाराहरुको आधिपत्य ध्वस्त पार्न
दासताको पिंजडालाई भत्काउन
हामी एक भएर बिद्रोह गर्नुको विकल्प छैन आऊ!सबै मिलेर एक्यवद्धता जनाऔं।

गधा बिस्फोट हुन्छ
बुरुक-बुरुक उफ्रेर बोल्न थाल्छ-
हो!मान्छेहरुले सीमा नाघिसके
आदिमकालदेखि हामी गधाहरुले
उनीहरुको भारी बोक्दै आएका छौं
दिनदिनै हाम्रो काँधको छाला खिइँदैछ
बिरामी हुँदापनि छोडेका छैनन्
पल-पल मरेर बाँचिरहेका छौं
उनीहरू चाहिँ रित्तै हिंड्छन्
अनि उनीहरुकै गतिमा लम्किनुपर्ने
शरीरैभरी निलडाम बनाएका छन् पापीहरुले
मनलाई पत्थर बनाएर पेलिरहेका छन्
कुटिरहेका छन्,चुटिरहेका छन्
हाम्रो स्वतन्त्रता माथि धावा बोलेर
नर्क बनाइरहेका छन् जिन्दगी।

अझ "गधालाई भारी पुगेन भने कराउँछ" रे
छि!कस्तो सिकिस्त मानसिकता!
भारी नभएको दिन पुलकित भएर-कृतज्ञता व्यक्त मात्र गरेका हौं
हामी छिल्लिएका हैनौं।

बुद्धू त मान्छे हुन्छन्
असल गुण एउटा पनि भेटिन्न
खराब आचरणले भरिपूर्ण प्राणी हो-मान्छे
चरित्रहीनताको पर्याय हो-मान्छे
चेत छ तर दुरुपयोग गरिरहेका छन्
मान्छेले आफू मान्छे भएकोमा गर्व गर्छन्
तर उनीहरुले आफूलाई चिनेकै छैनन्
चिन्न सक्ने ल्याकत पनि राख्दैनन्।

हाम्रो अपमान गरेर
किन उनीहरू एक-अर्कालाई गाली दिन्छन्-"साला गधा"!

उठौं साथी हो!
मान्छेको विरुद्धमा शंखघोष गरौं-एउटा महासंग्राम!

गडगडाहट तालीको वर्षा हुन्छ
पर्दा सर्लक्क खस्छ
नेपथ्यबाट नाराहरु गुञ्जिन्छन्
"पशुपंक्षी-जिन्दावाद!"
"इन्क्लाब-जिन्दावाद!"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...