Saturday, 22 September 2018

युगनारी

यथार्थमा तिम्रा आँखाहरु
गाजालु छैनन्
नशालु छैनन्
निभिरहेका मधुरा चिमहरु झैं छन्
तर त्यहाँ स्नेहका गहिरा सागरहरु छन्
तिम्रै आँखाहरुबाट मैले देखेको छु-
विशाल संसार।

गालाहरु पोटिला छैनन्
चाउरिएका छन्
ओठहरु रसिला छैनन्
रंगीन छैनन्
मुहार-जून जस्तो छैन
तर तिमीले मलाई जून जस्तै बनाइदियौ
कहिल्यै तिर्न नसिकिने गुन लाइदियौ।

तिम्रो केशराशी घना छैन
वन-फडानी भएको पहाड जस्तै छ
तर जति छन्-सुनगाभा झैं फुलेका छन्
पहरारुपी शीर सजिएको छ।

केशका तन्तु-तन्तुमा छन्-अनगिन्ती अनुभव र भोगाइका शृंखला
तिनले सहेका छन्-कैयौं बर्षातका झट्काहरु
भोगेका छन्-हजारौं समस्याका पर्वतहरु
बोकेका छन्-प्रतिकूल समयका नाम्लाहरु
सिकेका छन्-अवर्णनीय पाठहरु।

तिम्रा स्तनहरु
कस्सिला छैनन्
भरिला छैनन्
तर तिनै माछापूच्छ्रे र कंचनजंघाका गल्छेडाहरुबाट
बगेको कञ्चन अमृत-जल पिएर
मैले जिन्दगी जिएको छु।

भित्र-भित्रै धमिराले खाएर
आँधी-तुफान,घामपानी,असिनाले पिटेर
ढल्न लागेको बूढो रुख झैं
मक्किएकी छ्यौ तिमी
तिम्रो शरीरमा शक्तिको क्षयीकरण हुँदैछ
रगतको मूल सुक्दैछ
तर मेरो नशा-नशामा तिम्रै रगत सवार छ।

जस्तोसुकै नाजुक/प्रतिकूल स्थितीमा पनि
तिम्रो मुटुमा मायाको बाढी-
उसैगरी उर्लिरहेको छ
साँच्चै तिमी महान छ्यौ
मेरो लागि तिमी स्वर्ण-युगकी नारी हौ।

तिम्रो अस्तित्व कहिल्यै मेटिने छैन
किनकी तिमी म भैसकेकी छ्यौ
म अरु कोही भैसकेको छु
यस्तै शिलशिला जारीरहनेछ-युगानुयुग।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...