कम्मर त्यो मर्काएर हिंड्ने
केटाहरु थर्काएर हिंड्ने
गालाहरु पड्काएर हिंड्ने
बोलीहरु चर्काएर हिंड्ने
कस्ती होलिन् मेरी प्राणपियारी
कस्ती होलिन् मेरी राजकुमारी।
धेरै पढे-लेखेकी,जागिर खाँदै गरेकी
उमेरले एक्काईस,हेर्दा हिस्सी परेकी
मिर्मिरेमा उठेर पूजा गर्ने बानी होस्
फुर्सदमा आएर माया गर्ने बानी होस्।
मीठो खाना पकाएर ख्वाउने
टीका,फुली,सारी,चोलो लाउने
अफिस जाँदा टाइ लाई दिने
झुक्याएर म्वाइ खाइ दिने
कस्ती होलिन् मेरी प्राणपियारी
कस्ती होलिन् मेरी राजकुमारी।
सदैव मुस्कानको दियो बालिराख्ने होस्
प्रीतिको गमलामा पानी हालिराख्ने होस्
उध्रीएको जिन्दगी स्वयं टालिराख्ने होस्
कष्टसंग लडेर पीडा फालिराख्ने होस्।
धेरै केटा पट्याएर हिंड्ने
छोटो लुगा लगाएर हिंड्ने
आँखाहरु सन्काएर हिंड्ने
ट्याटुहरु खोपाएर हिंड्ने
कस्ती होलिन् मेरी प्राणपियारी
कस्ती होलिन् मेरी राजकुमारी।
No comments:
Post a Comment