Sunday, 9 September 2018

मानसिकता

           भाउ बढेको मौका छोपेर भाइले बिदेशबाट ल्याएको डलर साट्न साँझपख ठमेलतिर जाँदै थिएँ।जाँदै गर्दा एउटा ट्राफिक सिग्नलले रातो बत्ती बाल्दा केहीबेर रोकिनु पर्यो।नजिकै एउटी केटी स्कुटीमा रोकिएकी थिईन्।मेरो मनको आग्रहलाई बुझेझैं गरी हेल्मेटको सिसा माथि सारिन्।उनको रुपको वर्णन कुनै साहित्यकारले गर्न सायदै सक्लान्।ट्राफिकको बत्ती भन्दा उजेली।कालो चश्माले झन रुपको आगोमा घिउ थपेको थियो।मनले भन्दै थियो-ट्राफिक सिग्नलले रातो बत्ती मात्र बालिराखोस् र घण्टौंसम्म उनैलाई हेरिरहुँ।तर चाहेको कहाँ पुग्थ्यो र?हरियो बत्ती बालिहाल्यो।नचाहेरै पनि बाइकलाई अगाडि बढाउनुपर्यो।आफ्नो काम छोडेर उनको पछि लागें।स्कुटीको नम्बरलाई आँखाको लेन्सभित्र कैंद गरी मस्तिष्कको ग्यालरीमा लगेर राखें।उनको सम्मोहनले एउटा घरसम्म तानेर लग्यो।स्कुटी पार्किङ गरेर उनी सरासर भित्र पसिन्।सायद त्यो उनैको घर थियो।निकैबेर चुरोट सल्काएर टहलिएर बसें।घरलाई नियालें।चारतल्ले आकर्षक घरले मलाई नजाउ भन्दै थियो।अन्ततः जानैपर्ने भयो।तर मेरो भाग्य-उनी फेरि बाहिर निस्किन्।उनको फोनको घण्टी बज्यो।
"हजुर,एकपटकको हजार लिन्छु।हुन्न-हुन्न।५ सयमा सकिन्न।"
उनको कुराले म बिलखबन्दमा परें।भूमरीमा फसेको आभास भयो।ढल्न मात्र सकिन।त्यतिखेर उनको मुहार बादल हटेपछिको चन्द्रमा झैं झपक्क बल्दै थियो।उनी जोसुकै होस,जेसुकै गरुन्,त्यतातिर ध्यान गएन।बस म त उनको रुपमा पागल भैसकेको थिएँ।अझै भन्दैथिईन्-
"पैसा नभए किन गर्नुपर्यो त?ल ल,८०० मा फाइनल।"
उनी निकै हतारमा देखिन्थिन्।पछि-पछि लागें।भीडभाड र ट्राफिक छिचोल्दै बागबजार पुगियो।स्कुटी रोडमै राखेर हातमा ब्याग लिई भित्री गल्लीतिर छिरिन्।मैले पनि त्यसै गरें।उनको जीउडाल र लचकता देखेर झन मोहित हुँदै थिएँ।तर उनको काम सम्झेर हीनताबोध पनि भयो।छोटो स्कर्ट र नितम्ब परैबाट मनको हातले स्पर्श गरिरहें।पछाडि फर्केर समेत नहेरी भित्र पसिन्।म चाहन्थें-पटकपटक फर्केर हेरुन् र उनको हेराइको नशाले लट्ठ हुन सकुँ।

           काकाकुल भएर प्रतिक्षारत भएँ।म त्यहाँ बस्नै सकिन।अनेक अड्कालबाजी र शंकाले मनको लंका जल्दै थियो।
"यस्ती राम्री केटीले किन यस्तो काम गर्नुपरेको होला?"
घरीघरी मनले एउटै प्रश्न सोधिरह्यो।तर उत्तर कतै थिएन।थाहै नपाई आँखाबाट मूल फुटिसकेछ।असह्य भएपछि तीव्र गतिमा बाइक हाँकेर घर पुगें।उनी मेरी कोही थिइनन् तर मनमा पहिरो गएर ठूलो क्षति भयो।सञ्चो नभएको बहानामा छिट्टै सुत्न गएँ।कैयौं कोल्टे फेरेपनि मस्तिष्कमा त्यही घटनाक्रमले तहल्का मच्चाइरह्यो।
"परिचय समेत थाहा नभएको मान्छेलाई एकै झलकमा कसैले कसरी प्रेम गर्न सक्छ?"
"सक्छ,किन सक्दैन?प्रेम चाहेर हुने हो र?प्रेम त आफैं हुन्छ।कतिखेर,कहाँ,कसरी कसैलाई थाहा हुन्न।"
आफैंले आफैंलाई प्रश्न-प्रतिप्रश्न गर्दागर्दै भुसुक्कै निंदाएछु।राम्रै भयो।

            धेरै दिनसम्म उनको छवि आँखाबाट हटेन।उनलाई बिर्सनै सकिन।एक हप्तापछि फेरि त्यही समयमा ठमेलका उहीँ ठाउँहरु चहार्दै हिंडें।५ दिन भैसकेको थियो खोजेको।तर भेटिन।दिनरात पागल भएर उनकै खोजीमा लागिपरें।एकदिन म रत्नपार्कको आकाशे पुलमा बसेर वरिपरिका दृश्य अवलोकन गर्दै थिएँ।सडक अति व्यस्त थियो।गाडीहरूको हर्नले पर्यावरण कोलाहलमय थियो।अचानक मेरो आँखा पुल मुनिको सडकमा पर्न गएछ।ठ्याक्कै उनैको स्कुटी।देख्नेबित्तिकै ठम्याइहालें।हतार-हतार द्रुतगतिमा तल ओर्लेर बाइक चलाएर पछि लागें।संयोगबश त्यहाँ उत्तिखेरै सानो दुर्घटना भयो।सडक एकछिन जाम भयो।फेरि खुलिहाल्यो।सायद मेरै लागि भगवानले दुर्घटना गराएको थियो।त्यतिन्जेलसम्म उनको नजिकै पुगिसकेको थिएँ।निर्धक्क उनको पछि लागें।धरहरा हुँदै भित्री सडकमा गुड्न थाल्यौं।पहिलेको झैं स्कुटी सडकमै राखेर एउटा घरमा प्रवेश गरिन्।
"केटा!तँ के गर्दैछस्?एउटी देह-व्यापारीको पछि लागेर किन जिन्दगी बर्बाद गर्दैछस्?"
आफैंलाई प्रश्न तेर्स्याएँ।
फटाफट सिंढी उक्लेर तेश्रो तलाको एउटा कोठामा प्रवेश गरिन्।म पनि सजग भएर पछि लागें।ढोका खुल्लै थियो।संयमतापूर्वक भित्र नियालें।त्यो दृश्य देखेर आफैं लज्जित भएँ।
उनले ब्यागबाट एउटा थर्मोमिटर निकालेर एउटी बृद्धाको जिब्रोमा राख्न लगाईन्।
"बाफ्रे!१०२ पुगेछ।आफ्नो ख्याल राख्नुस्।अहिलेलाई यी औषधिहरु राख्देकी छु।यो नामको औषधि चाहिँ मेडिकलमा गएर किनिहाल्नुस्।"
मैले आफैंलाई धिक्कारें।त्यहाँ बसिरहने हिम्मत भएन।एउटी डाक्टरलाई बेश्या बनाउने मेरो सिकिस्त मानसिकतालाई दागबत्ती दिएर तत्काल फरार भएँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...