छातीमा बेरोजगारीको बोर्ड टाँगेर
धेरै बिज्ञापन गरें-
"पसिना बिक्रीमा छ"
क्रेता कोही भएनन्।
दुईबर्ष पुरानो हात्तीछाप चप्पल उनेर
खल्तीमा केही गैंडाका छापहरु च्यापेर
झोलामा १५ बर्ष पढेको प्रमाण बोकेर
गल्ली/चोक हुँदै कार्यलयहरु धाउँदै
बिज्ञापन गरिरहें-
"प्रमाणपत्र बिक्रीमा छ"
तर क्रेता कोही भएनन्।
केही सीप नलागेपछि
सरकारी र निजी अस्पतालहरु धाएर
विज्ञापन गर्दै हिंडें-
"रगत बिक्रीमा छ"
क्रेताहरुको भीड लाग्यो
नोटहरुको वर्षा भयो
तर ज्यानले साथ नदिएपछि
रगतको व्यापार बन्द भयो
नोटहरुको खडेरी लाग्यो।
पुनः बेरोजगार भएपछि
चोकमा एउटा सटर भाडामा लिएर
साइनबोर्ड झुन्ड्याएको छु
"शुक्रकीट बिक्रीमा छ"।
No comments:
Post a Comment