Saturday, 8 September 2018

अन्तरिम आदेश

मेरी प्रिया!
बिछोडको भीरबाट
उराठलाग्दो अनकन्टार मरुभूमिमा नघचेट
प्रेमको तृष्णाले काकाकुल भएर
छट्पटिन सक्छु।

अभावको भूमरीबाट बच्न नपठाउ
दूरदराजको आँधीतुफानसंग जुझ्न
बेदनाको सुनामीसंग सामना गर्न
सात-समुद्र पारीको आगोसंग खेल्न
अत्याधिक जलन र पीडा हुनेछ प्रिया!
जलेर खाग हुनेछु
त्यहाँ कुनै पानी हुनेछैन
त्यहाँ कुनै मल्हम हुनेछैन।

शित्तल,सुन्दर र शान्त भूगोलबाट
उज्यालो भित्रको अँध्यारोमा नहुत्याउ
मेरा मनका आँखाहरु अन्धा हुनेछन्
ढक्ढक्याउन सक्नेछैन तिम्रो मनको दैलो
सुम्सुम्याउन सक्नेछैन तिम्रो हृदयको माया
म बिल्कुल एक्लो हुनेछु
पिरतीको सारंगी रेट्ने सारथी हुनेछैन त्यहाँ।

म भावुकताको सागरमा चुर्लुम्म डुबेर
खोज्दै हिंड्नेछु तर्क-वितर्कहरुको मोती
एक्लोपनका झारहरु रोपेर
टिप्न खोजिरहेको हुनेछु-कविताका फल
मलाई कवि हुनुछैन प्रिया!
नलत्याउ मलाई एकान्ततिर।

बरु दरिद्रताको भ्वाङलाई
परिश्रमको सियोमा मायाको धागो उनेर
जतनपूर्वक सिइदिउँला
पसिनाको झोललाई
अमृत सम्झी पिइदिउँला
नाघ्ने छैन-प्रेमको परिधि
उल्लंघन गर्नेछैन-तिमीले निर्धारण गरेका
भोक र भोजनका आधारभूत नियमहरु
त्यसैले प्रिया!
सखारै घर छोड्ने अन्तरिम आदेश नदेउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...