धेरै दिनदेखि हामी चिच्याइरहेका छौं-
अधिकार चाहियो
हाम्रो माग पूरा गर
यसो गर्न पाइँदैन
उसो गर्न पाइँदैन
तर मनको शब्दकोषबाट हटाइएको छ-
"कर्तव्य" नामको शब्द।
महिला/पुरुषहरुलाई चाहिएको छ
सम्पन्नता
सम्पति
भोग-विलासिता
तर चाहिएको छैन-पति/पत्नी।
छोराछोरीहरुलाई पूरा गर्नुछ-
असीमित रहर र आवश्यकताहरु
चाहिएको छ-
उच्च शिक्षा
अंश
माया
तर चाहिएको छैन-बा-आमा!
हामीलाई चाहिन्छ
समृद्धि
सुशासन
विकास
बजेट
तर भाग्छौं-कामबाट।
हामी खोजी गरिरहेका छौं-
प्रदुषणरहित पर्यावरण
स्वस्थ जीवन
स्वच्छ हावा
हरित वनजंगल
तर दिनानुदिन गरिरहेका छौं-वन-फडानी
मानसिकता छैन-बृक्षारोपणको।
हामीलाई मनग्ये आम्दानी चाहिन्छ
रोजगार चाहिन्छ
तर वरिपरिको रोजगार देख्दैनौं
देखेपनि लाज भन्ने जिनिसले गर्न दिंदैन
त्यहाँ रोकिरहेको हुन्छ-आत्मसम्मानले
छेकिरहेको हुन्छ-इगोले
बाधक बनिरहेको हुन्छ-सर्टिफिकेट!
हामी यहाँ केही पनि देखिरहेका छैनौं
सम्भावना देखिरहेका छैनौं
हाम्रो आँखा अगाडि
एउटा ठूलो साइनबोर्डमा लेखिएको छ-
असम्भावना।
हाम्रो मस्तिष्कबाट स्थायीरुपले मेटिएको छ-सकारात्मकता
चारैतिर भरिएको छ-
नकारात्मकता-नकारात्मकता-नकारात्मकता।
No comments:
Post a Comment