आँखाभित्र सागर छ,पानी छल्किन्छ
ओठभित्र दाँत हैन,मोती टल्किन्छ
त्यो रुपको देखि राप,जवानीको ताप
मन मेरो फेरि फेरि फेरि पल्किन्छ।
जूनदेखि लजाएर ताराहरु खस्छन्
तिमीदेखि केटाहरु कान्लामुनि खस्छन्
डराएर भाग्दिन म,कम्मर नै कस्छु
माया गाँस्छु,ओठमा डस्छु,दिलभित्र पस्छु।
ज्यान पनि त्यतै-त्यतै,चाँडो ढल्किन्छ
छोएपछि भित्र-भित्रै आगो सल्किन्छ
लाए हुन्छ फलिफाप,हुन्न माया पाप
मन मेरो फेरि फेरि फेरि पल्किन्छ।
परेलीमा अल्झिएर लडिन्छ कि क्या हो
पिरतीको धरापमा परिन्छ कि क्या हो
जवानीको डुंगा चढी तरिन्छ कि क्या हो
यौवनको टापुमा नै पुगिन्छ कि क्या हो।
मुटुभित्र डढेलो झैं माया सल्किन्छ
लुकाउन खोजे पनि सारा झल्किन्छ
मदिरा झैं लाग्छ झ्याप,माया झ्याप झ्याप
मन मेरो फेरि फेरि फेरि पल्किन्छ।
No comments:
Post a Comment