जुत्ताका सुरुङहरुबाट
अर्धनग्न कछुवाहरुले टाउका निकाल्दै
दरिद्रतासंग लुकामारी खेलेपछि
पाइलाहरु मोडिएका हुन्।
राष्ट्रिय पोशाकको दर्जा पाएका
दुई जोर दौरा-सुरुवालहरुले
च्यात्तिएका ध्वजा-पत्तकाहरुले जस्तै
हावाको वेगलाई समर्थन जनाउँदै
थरी-थरीका सांगीतिक धूनहरु निकालेर
ब्यक्तित्वलाई गिज्याएर तिलाञ्जली दिएपछि
मुटुमा राष्ट्रियताको रंग फिका भएको हो।
शैक्षिक योग्यताका प्रमाणपत्रहरुले
बेरोजगारीको सम्झौतामा हस्ताक्षर गरी
अभावको मुश्लोसंग साँठगाँठ गर्दै
मनको चारकोशे झाडीमा डढेलो सल्काएपछि
आगो निभाउनलाई
सात-समुद्र पारीको पसिना सापटी माग्नुपरेको हो।
आङको पहाडबाट
कमिजका धागाहरुले
शसस्त्र आन्दोलन गर्दै
पारपाचुके गरेपछि
देशलाई पिठ्युँ फर्काउनु परेको हो।
आन्द्राहरुको क्षितिजबाट
भोकका बादलहरुले
चट्याङ खसाले पछि
मुसाहरुलाई बचाउन
सपनाको यान चढी
त्यो पारीको क्षितिज छिचोल्नुपरेको हो।
झुपडीका निर्दोष कलिला आँखाहरुले
सम्पन्नताको छानो फोडेर
जून-ताराहरुको कला हेरेको अभियोगमा
इन्द्रले विपन्नताका थोपाहरु बर्षाउँदा
वास्तविकताको विरासत डुबानमा परेकोले
प्यारीको आँशुमा पौडिएर पारी तर्नुपरेको हो।
लैनो भैंसी आफ्नै गोठमा फर्केको दिन
गैरीखेतको लालपुर्जा हात परेको दिन
वेदनाले रुझिएको अगेनामा आगो बलेको दिन
हो,त्यही दिन माटोको टीका लाएर
चौतारीमा तीता-मीठा भलाकुसारी गरौंला
हुन्न र साइँला?
No comments:
Post a Comment