Tuesday, 25 September 2018

मन्द-विष

        जब म अन्धकारमा छट्पटाइरहेको थिएँ।निस्सासिरहेको थिएँ।मेरो जिन्दगी भित्रको जिन्दगी हराइरहेको थियो।संसारको कुनै निर्जन बिन्दुमा विलिन हुँदै थिएँ।त्यतिनैबेला तिमी आफ्नो रुपको दियो बाल्दै मेरो मनको संघारमा पाइला टेक्यौ।सोचें-मेरो मार्ग जाज्वल्यमान भयो।सोचें-औंशीमय जिन्दगी पूर्णेमय भयो।जिन्दगीको भीरबाट हाम्फालिरहेका निराश जिजीविषाहरु एकाएक माथि उक्लिएझैं लाग्यो।अनि लक्ष्यको लय समाउन भ्याए झैं।तिम्रो पाउजूको झंकार सुन्दा लाग्यो-म संगीतको रागमा पूर्णरूपमा लीन हुँदैछु।पदचापको ध्वनि सुन्दा लाग्यो-समयले प्रगतिको सूचकस्वरुप अलार्म बजाइरहेछ।तिमीले चार औंलाहरुको सहायताले पानको पात बनाएर देखाउँदा नामी जादूगर्नीको जादू हेरेर मोहित भएझैं भएँ।तर अहिले आएर बुझ्दैछु-त्यो मायाको प्रतिविम्ब नभएर फाँसीको फन्दा रहेछ।अचम्म लाग्छ कि किन फाँसीको फन्दामा चढ्न त्यति विध्न लालयित थिएँ।त्यो रुपको दियो त निर्दोष पूतलीहरुको ज्यान लिने दियो भन्दा पनि खतरनाक रहेछ।बरु पूतलीहरु त हाम्फाल्ने बित्तिकै स्वर्गारोहण गर्छन्।तर म त तिम्रो दियोको जलनले पटकपटक जल्दै घाइते भएको छु।अचेल तिम्रो पाउजूको छमछ्म सम्झिंदा पनि त्राही-त्राही हुन्छु।कोर्रा हाने जस्तो शरीरमा झट्का लाग्छन्।कानमा हैन सिधै मुटुमा गएर बिझ्छन् ती घातक प्रतिध्वनिहरु।हामी दुबै मिलेर स्वीमिङ-पुलमा हाम्फाल्दा लाग्थ्यो-स्वर्गमा हाम्फाल्दैछौं।तर अहिले लाग्छ-तिमीले मेरो हात समाएर नर्कमा पुर्याएका थियौ।ती पलहरु स्मरण गर्दा लाग्छ-अझै म त्यही नारकीय पुलमा हातखुट्टा फट्फटाएर गुहार माग्दैछु।जिन्दगीको भीख माग्दैछु।त्यो पुलको पानी गर्मी मौसममा कति शीत्तल लाग्थ्यो।वास्तवमा त्यहाँ पानी रहेनछ।त्यहाँ त गाढा सल्फ्युरिक एसिड रहेछ।मनको धरातलमा अझै भत्भती पोलिरहेछ।खुइलिएको छ मेरो दिव्य-मुहारको चर्म।साँच्चैको एसिडले भन्दा छलकपटको एसिडले धेरै गहिरो घाउ बनाउने रहेछ।

           हामी रम्न गएको नगरकोटको घना-जंगल पनि अचेल जंगल जस्तै लाग्दैन भन्या!मलाई त उजाड पहाड लाग्छ।वरपरका डाँडाकाँडा र अलौकिक दृष्यहरुको अवलोकन गर्न चढिएको त्यो भ्यू-प्वाइन्ट पनि सुसाइड-प्वाइन्ट जस्तो लाग्न थालेको छ।परोक्ष रुपमा तिमीले मलाई त्यो टावरबाट घचेटिसकेका रहेछौ।बर्षौंपछि बल्ल बुझ्दैछु।अनि त्यहाँको रेस्टुरेन्टमा गएर चाउमिन र म:म: मगाएर खाएको पनि बिर्सन सक्दिन।तिमीले मेरो आँखा छलेर मन्द-विष हाले जस्तो लाग्यो।तत्कालै असर देखिएन।अहिले बल्ल देखिरहेछ।नत्र मेरो शरीर यति ख्याउटे हुन्थेन होला।अनि आलोपालो तस्वीरहरु पनि खिचेका थियौं नि हगि?ती तस्वीरहरुलाई जमानामै मोबाइलबाट डिलिट गरिसकेको थिएँ।तर मेरो मस्तिष्कको ग्यालेरीमा अझैसम्म दीर्घकालीन अमिट छाप भएर विराजमान छन्।हजारौं पटक डिलिट गर्दा पनि हुँदै भएनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...