Tuesday, 11 September 2018

सुनको पिंजडा

सुनको दिवार ठड्याएर
सुनकै झ्याल-ढोका लाएर
सुनकै छानो छाएपनि
सुनकै थालमा खाएर
सुनकै पलाङमा सुती सुनौलो सपना देखेपनि
टेकिने धर्ती र देखिने संसार त उस्तै हुन्
समय उस्तै हो
समय भन्दा बलवान् अरु के होला?

तर विडम्बना
सुनकै लागि मनहरु
गुन बिर्सेर घुन बन्छन् र
लसुन झैं पिसिन्छन्।

मनलाई जबर्जस्ती सुन बनाएर
पानी जस्तै ओरालो बग्छन्
हावाको वेगमा बहेर सागर तर्छन्
तर माया त सुनको नहुँदोरहेछ क्यारे!
सुन भन्दा कैयौं गुणा अनमोल हुन्छ
अनमोल चीज छोडेर सस्तोलाई अंगालेर
त्यसैको पिंजडा उपहार पठाउँछन् चराहरु!

सुनको पिंजडामा थुनिएपनि चरी
उसले खाने दाना अरुको जस्तै
उसले पिउने पानी अरुको जस्तै।

वायुमण्डल उस्तै वायुको
इन्द्रियहरु उस्तै चर्मको
फेर्ने सास एउटै
अनि एउटा शाश्वत सत्य
एक मुठी सासले साथ छोडेको पल
सुनको जल छर्केर कोही पुनर्जीवित हुँदैनन्।

पिंजडाले गोलीहरु छेक्लान्
पिंजडाले बोलीहरु छेक्लान्
तर चराले पठाएको यादको गोलीले
निमेषमै घाइते हुन्छ चरी
छेक्न सक्दैन कुनै तागतले
सम्झनाको तीरले धुजा-धुजा पार्छ छाती।

सुनको पिंजडामा कैद पंक्षीको
रहरका प्वाँखहरु उखेलिएका हुन्छन्
चाहनाका पखेटाहरु काटिएका हुन्छन्
उमंगहरु बोकेर उड्नै सक्दैनन्।

प्रेमको खुल्ला नील-गगनमा
समीरको सुमधुर संगीतसंगै
प्रकृतिको मनोरम दृश्य नियाल्दै
निर्वाध उड्दै कावा खान कहाँ सक्छन् र-
पिंजडाका पंक्षीहरु?
सुनको होस या फलामको
पिंजडा त पिंजडा नै हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...