बिरानो बगरमा
असरल्ल फैलिएका मध्ये
म पनि एउटा फुस्रे पत्थर हुँ
जहाँ न कोही यात्री सफर गर्न आउँछन्
न टिपेर लगी मन्दिरमै सजाउँछन्।
सदियौं देखि म कति प्यासी छु
खै कसले बुझ्यो र मेरो प्यास
नदी पनि आफ्नो अहंता प्रदर्शन गर्दै
आफ्नो गन्तव्यतिर प्रस्थान गर्छ
एक-दुई थोपा छल्काइदिए के बिग्रन्थ्यो?
अझ उल्टै दोषारोपण गर्छ
उसको बाटो हामीले छेक्यो भनेर।
म चाहन्थें
कोही आएर मलाई टपक्क टिपी
आफ्नो मन बहलाउने बहानामा
नदीमा फालोस्
हर्षको तरंग उत्पन्न गराओस्
प्यासी मेरो तनलाई
बर्षौं पुग्ने गरी तृप्त गराओस्
नदीलाई पिइरहन सकुँ
उसको साथ पाइरहुँ
तर अहिलेसम्म न कोही आयो
न त म नदीमा मिल्काइएँ।
यदि संयोगवश
कोही मान्छे
पत्थरको खोजीमा निस्के पनि
उसको नजर
म माथि पर्ने छैन
उसले खोजेको पत्थरमा
म बिल्कुलै पर्दिन
किनकि उसको रोजाइ
म जस्तो खस्रो पत्थर नभई
चिल्लो पत्थर हो।
कृषकहरु आफ्नो बाली लाएर
बर्षाको प्रतिक्षामा
आकाशतिर हेरिरहे झैं
म पनि ठूलो अपेक्षा बोकेर
आँखा फुट्ने गरी हेरिरहेछु।
कहिले पापी बतास आएर
मेघलाई लखेटिदिन्छ त
कहिले चर्को घाम लागेर
मेरो पिठ्युँ सेकाइदिन्छ
लामो प्रतिक्षाको समाप्तीपछि
बर्षेको बर्षा पनि
माटो,बालुवाहरुले निलिदिन्छन्
त्यसैले उनीहरुसंग सम्झौता गरेर
बाध्य भई मिलिरहेको छु
मेरो भर उनीहरु र
उनीहरुको भर म भएको छु।
बूढो गोरुलाई
आफ्नो जीवन बोझ लागे झैं
धोका खाएका प्रेमी/प्रेमिकालाई
आफ्नो अस्तित्व व्यर्थ लागे झैं
मलाई पनि आफ्नो जीवन
बोझ लाग्न थालेको छ
आफ्नो जीवन आफैंलाई
भारी लाग्न थालेको छ
झन जमिनलाई कति भारी लाग्दो हो!
कहिलेकाही त अफसोस लाग्छ
आफ्नो जूनी देखेर
सवाल गर्न मन लाग्छ
भाग्य विधातालाई
किन मलाई गह्रौं बनायौ?
कपास जस्तै हलुका बनाएको भए
हावाको वेगसंगै उडेर
नयाँ-नयाँ ठाउँ हेर्ने थिएँ
कहीं न कहीं
कुनै न कुनै तरीकाले
आफ्नो प्यास बुझाउने थिएँ।
तर बिडम्बना
समाजबाट अपहेलित
अर्धबैशे बिधुवा नारी झैं
एउटा निरीह पात्र भई
मनको इच्छा मनमै मारेर
इन्द्रेणी झैं रंगीन स्वप्न लिएर
फिका जीवन जिउन विवश छु।
No comments:
Post a Comment