एउटा सुरिलो अग्लो रुख
जसको टुप्पोमा
रसिला/स्वादिला अनगिन्ती फलहरु
लटरम्म फलेका छन्
त्यहाँ पुग्न भर्याङ चढ्नैपर्छ।
केही धूर्त स्यालहरु भर्याङ चढी
माथि पुगेर मस्त फल खान्छन्
अघाएकाहरु झोलामा भर्छन्
कोही हाँगा भाँच्छन्
कोही आधा खाएर फ्याँक्छन्
कोही पेट फर्काएर निंदाउँछन्।
केही बाख्राहरु भर्याङ चढ्न नसकेर
टुलुटुलु नियाल्दै
घुटुघुटु थुक निलेर बस्छन्।
केही हरिणहरु स्याल धपाउन
ताकी-ताकी ढुंगाको झटारो हान्छन्
तर निशानाहरु चुकिरहन्छन्।
हरिणहरुको पारा देखेर
स्यालहरु अट्टहास गर्छन्
त्यतिखेरै पाद ढ्वार्र-ढ्वार्र खुस्किंदा
हरिणहरु नाक/मुख छोपेर टाप कस्छन्।
शब्दार्थहरु
--------------
रुख=सत्ता
फल=कुर्सी
स्याल=टाठा-बाठा भ्रष्ट नेता
भर्याङ=जनमत
बाखा=इमान्दार नेता
हरिण=लेखक/साहित्यकार
ढुंगा=कलम/लेख/रचना
पाद=धम्कीको भाषा
No comments:
Post a Comment